काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। सुनको भाउ एकैदिन तोलामा पाँच हजार चार सय रुपैयाँले बढ्दै दुई लाख ९१ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।
यसअघि हिजो मंगलबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर दुई लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको थियो। लगातार दुई दिनको वृद्धिसँगै सुनको मूल्य पुनः उकालो लागेको हो।
चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी तोलामा एक सय १० रुपैयाँले महँगिँदै चार हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यद्यपि हालको मूल्य यस वर्षकै उच्च स्तरभन्दा अझै तल रहेको छ। गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार पाँच सय रुपैयाँले उछालिँदै तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै सर्वाधिक मूल्य हो।
चाँदीले पनि सोही दिन तोलाको सात हजार पाँच सय पाँच रुपैयाँको कीर्तिमानी मूल्य छोएको थियो। त्यसको तीन दिनपछि, माघ १८ गते, चाँदीको मूल्य एकैदिन तोलामा एक हजार पाँच सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो।

