काठमाडौँ । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई कानुनी प्रक्रिया छलेर छुटाइदिने तथा नियन्त्रणमा रहेका राहदानी फिर्ता गराइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा चर्चित हास्य कलाकार, सशस्त्र प्रहरी बलका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा रहेका नौ जना चिनियाँ नागरिकलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानी फिर्ता गराइदिने आश्वासन दिएर रकम असुलेको आरोपमा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० बुद्धनगर बस्ने ५२ वर्षीय हास्य कलाकार नारदप्रसाद खतिवडा, ललितपुरको नख्खीपोट बस्ने ५९ वर्षीय सशस्त्र प्रहरीका पूर्व एसएसपी गोपालकुमार गुरुङ तथा ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले चिनियाँ नागरिकलाई हिरासतबाट छुटाइदिने वातावरण मिलाइदिने भन्दै ७२ लाख रुपैयाँभन्दा बढी रकमको सहमति गरेका थिए। त्यसअन्तर्गत अग्रिम रकमका रूपमा नौ लाख रुपैयाँसमेत असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
काम सम्पन्न नगरी रकम लिएको भन्दै पीडित पक्षबाट परेको उजुरीपछि प्रहरीले गोप्य अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। घटनामा अन्य कुनै प्रशासनिक अधिकारी वा बिचौलियाको संलग्नता रहे/नरहेको विषयमा पनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

