काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। प्याङ्क्रियाज (अन्नाशय) को क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य पछिल्ला दिनमा थप जटिल बन्दै गएको परिवारले जनाएको छ।
श्रेष्ठका छोरा सम्पूर्ण श्रेष्ठका अनुसार हाल उनी ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा उपचाररत छन्। पछिल्लो ९–१० दिनदेखि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको र चिकित्सकहरूले अवस्था चिन्ताजनक रहेको बताएका छन्।
प्याङ्क्रियाजमा समस्या देखिएपछि श्रेष्ठले गत वर्ष नर्भिक अस्पताल र धुलिखेल अस्पतालमा उपचार गराएका थिए। त्यसपछि थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पताल पुगेका उनलाई क्यान्सरको किमोथेरापी गरिएको थियो। करिब तीन महिनाको उपचारपछि स्वदेश फर्किए पनि त्यसयता उनको स्वास्थ्य क्रमशः कमजोर बन्दै गएको परिवारले जनाएको छ।
हेलियस अस्पतालमा भर्ना हुनुअघि उनले हरिसिद्धिस्थित मेडिसिटी अस्पतालमा पनि उपचार गराएका थिए।
नेपाली कांग्रेसका पुराना र प्रभावशाली नेतामध्येका श्रेष्ठले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। राजाको प्रत्यक्ष शासनका बेला तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा पक्राउ परेपछि श्रेष्ठले नै पार्टीको नेतृत्व सम्हालेका थिए।
गत पुसमा कांग्रेसको विशेष महाधिवेशनमा भृकुटीमण्डपमा उनले दिएको सम्बोधन पनि निकै चर्चामा आएको थियो।

