काठमाडौं, साउन ९ — नेपाली कम्युनिस्ट पार्टीको सङ्घीय सम्पर्क समितिद्वारा आयोजित एकता बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार काठमाडौंको बानेश्वरस्थित अर्पण बैङ्क्वेटमा सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा सङ्घीय सम्पर्क समितिका अध्यक्ष तारानाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल प्रमुख अतिथि तथा संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण, वैचारिक एकता तथा पार्टीको आगामी कार्यदिशाका विषयमा प्रशिक्षण र छलफल गरिएको थियो। वक्ताहरूले पार्टीभित्रको एकता, अनुशासन र जनतामाझ प्रभावकारी रूपमा पुग्न कार्यकर्ताको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रमुख अतिथि माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका संस्थापक नेता कमरेड पुष्पलालको योगदानको स्मरण गर्दै उहाँले अघि सारेका विचार र आदर्शलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले राष्ट्रियताको झण्डा कुनै पनि परिस्थितिमा झुक्न नदिनुपर्ने र लोकतन्त्रको झण्डालाई सधैं उच्च राख्नुपर्ने बताउँदै पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा एकीकृत र जनमुखी बनाउँदै अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो।
विशेष अतिथि नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्त नै पार्टीको मूल आधार भएको उल्लेख गर्दै पार्टीलाई विधि, पद्धति र संस्थागत प्रणालीअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले गरिब, किसान, मजदुर तथा उत्पीडित समुदायका मुद्दालाई कुनै पनि अवस्थामा छाड्न नहुने बताउँदै पार्टीका सम्पूर्ण गतिविधि जनताको हित, सामाजिक न्याय र परिवर्तनको पक्षमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सङ्घीय सम्पर्क समितिका इन्चार्ज यशोदा सुवेदीले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण अपरिहार्य रहेको बताउनुभयो। उहाँले परिवर्तनका उपलब्धिको रक्षा गर्दै समाजवादी लक्ष्य हासिल गर्न सबै परिवर्तनकारी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा नेताहरु झक्कु सुवेदी, देवेन्द्र पराजुली, मानबहादुर बुढा, चन्दबहादुर खड्का लगायतका नेता तथा सङ्घीय सम्पर्क समितिअन्तर्गतका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

