काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेको छ।
४४औँ बीपी स्मृति दिवस, ‘जरा अभियान’को समापन तथा नयाँ अभियानको घोषणा कार्यक्रमका अवसरमा राष्ट्रिय सभागृहमा बिहीबार सभापति गगन थापाले केन्द्रीय समितिबाट अनुमोदन हुने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
सभापति थापाले श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै साउन १२ र १३ गते बस्ने केन्द्रीय समिति बैठकबाट उक्त निर्णय अनुमोदन गरिने बताए।
उनले कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न जिम्मेवारी सम्हाल्दै पार्टीको संगठन र लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठले पुर्याएको योगदानको सम्मानस्वरूप उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरिएको स्पष्ट पारे।
प्यान्क्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि आइसियुमा उपचाररत छन्।

