काठमाडौं । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तरराष्ट्रिय उडानका लागि विभिन्न सेवा शुल्कमा उल्लेख्य छुट दिने निर्णय गरेको छ । यस्तो निर्णय गरे सँगै विदेशी वायुसेवा कम्पनी आकर्षित हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०८५ साल भदौ मसान्तसम्मका लागि अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको हो। साथै ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारको यो निर्णयले पोखरा–दुबईसहित अन्य अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न र नयाँ वायुसेवा कम्पनी भित्र्याउन अनुकूल वातावरण तयार हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार यसबाट पर्यटन प्रवर्द्धन, हवाई पहुँचको विस्तार र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नेछ।
यसैबीच फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान गर्ने तयारी पूरा गरेको छ। दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्र भएकाले त्यहाँसम्मको सिधा उडानले पोखरालाई युरोप, अमेरिका तथा अन्य अन्तरराष्ट्रिय गन्तव्यसँग सहज रूपमा जोड्ने अपेक्षा गरिएको छ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबई–पोखरा–दुबई उडान तालिका स्वीकृत भइसकेको छ र फ्लाई दुबईले टिकट बिक्रीसमेत खुला गरिसकेको छ। यो सेवाले विदेश जाने यात्रुको समय र खर्च दुवै घटाउने विश्वास गरिएको छ।
नियमित अन्तरराष्ट्रिय उडान सुरु भएपछि विदेशी पर्यटक सिधै पोखरा पुग्न सक्नेछन्। साथै वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि मध्यपूर्व र अन्य मुलुक जाने यात्रुलाई समेत ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमै फ्लाई दुबईलाई दैनिक दुबई–पोखरा–दुबई उडान सञ्चालनको अनुमति दिएको थियो। त्यसयता कम्पनीले उडान तालिका सार्वजनिक गर्दै व्यावसायिक तयारी अघि बढाइसकेको छ।
करिब २२ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्ष बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडानबाट वञ्चित थियो। सरकारको नयाँ नीतिगत निर्णय र फ्लाई दुबईको प्रवेशसँगै अब विमानस्थलको अन्तरराष्ट्रिय सञ्चालनले गति लिने अपेक्षा गरिएको छ।

