काठमाडौं । लगातारको वर्षासँगै गएको पहिरो र नदी कटानका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित बनेका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै हाल देशभर नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रे–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा हरेक दिन साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलाम्मे बनेपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो झर्दा अरनिको राजमार्गमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।
पहिरोकै कारण बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेका छन्।
उता, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्ड तामाकोशी नदीको कटानका कारण अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा अत्यावश्यकबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।

