काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमा सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ। संसदीय सुनुवाइ समितिले मंगलबार आयुक्तमा सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको तथा बुधबार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका मानबहादुर कार्कीको सुनुवाइ गर्ने कार्यतालिका तय गरेको छ।
संवैधानिक परिषद्को असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तमा सुब्बा र वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार आज बिहान ११:१५ बजे बस्ने बैठकबाट सुनुवाइ प्रक्रिया सुरु हुनेछ।
सिफारिसपछि समितिले असार २६ गते सार्वजनिक रूपमा उजुरी तथा सुझाव आह्वान गरेको थियो। त्यसक्रममा कार्कीविरुद्ध एउटा उजुरी र सुनुवाइ प्रक्रियासम्बन्धी एउटा सुझाव प्राप्त भएको छ।
पाल्पाको तानसेन नगरपालिका–९ का भेषराज लुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न र विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दिएका छन्। यस्तै, ललितपुरका उज्ज्वलकृष्ण श्रेष्ठले सुनुवाइमा बहुमत–अल्पमतको आधारमा होइन, गोलाप्रथाबाट निर्णय गर्न सुझाव दिएका छन्।
सभापति श्रेष्ठका अनुसार बुधबार कार्कीको सुनुवाइअघि उजुरीकर्तासँग छलफल गरिनेछ। प्रस्तावित तीनै जनाले आफ्नो कार्ययोजना समितिमा बुझाइसकेका छन्। सुनुवाइका क्रममा उनीहरूले आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् भने त्यसपछि प्राप्त उजुरी र सरोकारका विषयमा समितिका सदस्यहरूले प्रश्न गर्नेछन्।

