काठमाडौँ । फ्रान्सका कप्तान किलियन एमबाप्पे फिफा विश्वकप–२०२६ का हालसम्मका सर्वाधिक गोलकर्ता बनेका छन्। आइतबार बिहान इंग्ल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गरेसँगै उनले जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याएका हुन्।
यद्यपि एमबाप्पेको उत्कृष्ट प्रदर्शन फ्रान्सलाई जित दिलाउन पर्याप्त भएन। इंग्ल्यान्डले रोमाञ्चक खेलमा फ्रान्सलाई ६–४ ले पराजित गर्दै तेस्रो स्थान र कांस्य पदक आफ्नो नाममा पार्यो।
आजका दुई गोलसँगै एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँदै नयाँ कीर्तिमानसमेत कायम गरेका छन्। उनले तीन संस्करणको विश्वकपमा यो उपलब्धि हासिल गरेका हुन्।
जारी विश्वकपमा १० गोल गरेका एमबाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई गोलकर्ताको दौडमा पछि पारेका छन्। मेसीको नाममा हाल आठ गोल छ भने उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ। विश्वकप इतिहासमा पनि एमबाप्पे २२ गोलसहित मेसीको २१ गोलभन्दा अगाडि पुगेका छन्।
यससँगै एमबाप्पे ‘गोल्डेन बुट’ जित्ने दौडमा पनि सबैभन्दा अगाडि देखिएका छन्। विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने यो व्यक्तिगत पुरस्कारका लागि उनी बलिया दाबेदार बनेका हुन्।
एमबाप्पेले सन् २०२२ को विश्वकपमा पनि ‘गोल्डेन बुट’ जितेका थिए। लगातार दोस्रो पटक उक्त अवार्ड जित्ने सम्भावनालाई उनले यसपटक थप बलियो बनाएका छन्।
फिफा विश्वकपमा इंग्ल्याण्डसित पराजित हुँदै बाहिरिएपछी फुटबलर एम्बाप्पेको गोलसंख्या २२मा अडिएको छ भने अर्जेन्टिना र स्पेनको फाइनल खेलमा लियोनल मेसीले कति गोल बर्साउँछन्, त्यो हेर्न बाँकी छ । कम्तीमा २ गोल मेसीले पनि गरेभने गोलडेन बुट कसलाई दिने भन्ने अवस्था पैदा हुने छ । दुई गोल गर्नु सामान्य कुरा होइन ।

