काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप–२०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ जित्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

एम्बाप्पे विश्वकप इतिहासमै लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका हुन्।
उनले यस विश्वकपमा ८ खेलमा खेल्दा १० गोल गरे र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान ओगटे।
यसअघि कतारमा सम्पन्न सन् २०२२ को विश्वकपमा पनि एम्बाप्पेले ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए। त्यससँगै उनले लगातार दुई विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने दुर्लभ उपलब्धि आफ्नो नाममा लेखाएका छन्।
तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल गर्दै आफ्नो कुल गोल संख्या १० पुर्याएका थिए।
गोल्डेन बुटको दौडमा उनले ८ गोल गरेका लियोनेल मेस्सी, ७–७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घम तथा ६–६ गोल गरेका ह्यारी केन र ओस्मान डेम्बेलेलाई पछि पारे।
एम्बाप्पेले प्रतियोगिताको सुरुआती खेलमा सेनेगलविरुद्ध दुई गोल गरेका थिए। त्यसपछि इराकविरुद्ध दुई गोल, राउन्ड अफ ३२ मा स्विडेनविरुद्ध दुई गोल, राउन्ड अफ १६ मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत एक गोल तथा सेमिफाइनलमा मोरक्कोविरुद्ध एक गोल गर्दै विश्वकपभरि आफ्नो प्रभावशाली गोल यात्रा पूरा गरेका थिए।

