काठमाडौँ । स्पेनले फिफा विश्वकप साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ।
अमेरिकाको न्यु जर्सीस्थित फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल नै स्पेनलाई विश्वविजेता बनाउन पर्याप्त बन्यो।
टोरेसले ११४औँ मिनेटमा अर्को गोल गरे पनि रेफ्रीले अफसाइड ठहर गर्दै त्यसलाई मान्यता दिएनन्।
खेलभर स्पेनले बल नियन्त्रण र आक्रमणमा स्पष्ट दबाब बनाए पनि सुरुआती अवसरहरूलाई गोलमा परिणत गर्न सकेको थिएन। अन्ततः अतिरिक्त समयमा आएको गोलले स्पेनलाई १६ वर्षपछि पुनः विश्वकपको शिखरमा पुर्यायो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो।
उता, सन् २०२२ को विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा असफल रह्यो। अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा विश्वकप उपाधि जितेको थियो।
इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जो फर्नान्डेजले स्पेनका खेलाडीमाथि फल गरेपछि दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए। त्यसपछि अर्जेन्टिनाले खेलको बाँकी समय १० खेलाडीमा खेलेको थियो।
अब विश्वकपको २४औँ संस्करण सन् २०३० मा स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन्। विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा उद्घाटन खेलहरू भने उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा पनि खेलाइनेछन्। यद्यपि प्रतियोगिताका अधिकांश खेलहरू स्पेन, पोर्चुगल र मोरक्कोमै सञ्चालन हुनेछन्।

