काठमाडौं। अमेरिकाले इरानमाथिको सैन्य अभियानलाई निरन्तरता दिँदै लगातार छैटौं रात पनि दक्षिणी तथा रणनीतिक क्षेत्रहरूमा व्यापक हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड सेन्टकमले नयाँ चरणको आक्रमण सुरु भएको पुष्टि गरे पनि कुन–कुन लक्ष्यमा प्रहार गरिएको भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन।
इरानी सञ्चारमाध्यमहरूका अनुसार होर्मुज जलडमरूमध्य नजिकका रणनीतिक सहर सिरिक, बन्दर अब्बास, बुशेहर, केश्म टापु, इरानशहर, चाबहार, कोनारक र रास्क क्षेत्रमा रातभर शक्तिशाली विस्फोट भएका छन्।
बन्दर अब्बासको अल्लाहो अकबर आवासीय क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। त्यस्तै खामिर बन्दरगाह नजिकका दुई पुलमा भएको अमेरिकी आक्रमणमा सात जनाको मृत्यु भएको र नौ जना घाइते भएको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ।
अमेरिकी आक्रमणका कारण बन्दर अब्बास र आसपासका क्षेत्रमा विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको इरानको ऊर्जा मन्त्रालयले जनाएको छ। केही क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको भए पनि दक्षिणी क्षेत्रका नागरिकलाई उच्च खपत हुने समयमा विद्युत् मितव्ययी रूपमा प्रयोग गर्न आग्रह गरिएको छ।
यस्तै, रेलवे पूर्वाधार तथा इरानशहर विमानस्थल पनि आक्रमणको निशानामा परेका छन्। विमानस्थलमा क्षति पुगेको पुष्टि भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी हितमा आक्रमण जारी राखे थप कडा सैन्य कारबाही हुने चेतावनी दिएका छन्। अमेरिकी प्रशासनका अनुसार हालको अभियान इरानी बन्दरगाहहरू र होर्मुज जलडमरूमध्यसँग सम्बन्धित रणनीतिक पूर्वाधारमा केन्द्रित छ।
यसैबीच इरानले पनि मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण जारी राखेको दाबी गर्दै अमेरिकी आक्रमण नरोकिए थप कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
अमेरिका–इरानबीच बढ्दो सैन्य टकरावले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ भने विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत यसको प्रभाव देखिन थालेको छ।
(एजेन्सीको सहयोगमा)

