काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले पराजित गर्दै समूह चरणको यात्रा शतप्रतिशत जितसहित टुङ्ग्याएको छ।
पहिलो हाफमै दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफको ८०औँ मिनेटमा तेस्रो गोल थप्दै सहज जित दर्ता गरेको हो ।
अर्जेन्टिनाका लागि खेलको १९औँ मिनेटमा लो सेल्सोले पहिलो गोल गरे भने ३१औँ मिनेटमा लौटारो मार्टिनेजले अर्को गोल थपेक हुन् ।
पहिलो हाफमा विश्राममा रहेका कप्तान लियोनल मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। उनले ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अपराजित यात्रालाई निरन्तरता दिए।
जोर्डनका लागि ५५औँ मिनेटमा मुसा अल–तामारीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यसअघि नै लगातार दुई खेल जित्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको अर्जेन्टिनाले तेस्रो खेल पनि जितेर समूह चरण ९ अंकसहित शीर्ष स्थानमा समाप्त गरेको छ।
जारी विश्वकपमा मेसीले यसअघि पाँच गोल गरेका थिए। आज थप एक गोल गरेसँगै प्रतियोगितामा उनको व्यक्तिगत गोलसंख्या ६ पुगेको छ।

