विश्व सर्प दिवस : डरबाट ज्ञानतर्फको यात्रा
तोमनाथ उप्रेती
(विश्व सर्प दिवसका सन्दर्भमा)
मानिसले सबैभन्दा पहिले जसलाई देखेर डर सिक्यो, सम्भवतः त्यो सर्प थियो। सर्प देख्नेबित्तिकै शरीर तर्सिन्छ, मुटुको धड्कन बढ्छ र चेतनाले तत्काल खतरा महसुस गर्छ। तर एउटा प्रश्न सधैँ अनुत्तरित रहन्छ के सर्प वास्तवमै मानिसको शत्रु हो, कि हाम्रो अज्ञानताको ऐना मात्र?
प्रकृतिमा कुनै पनि जीव निरर्थक छैन। प्रत्येक प्राणी पृथ्वीको विशाल जीवनचक्रको एउटा अनिवार्य कडी हो। सर्प पनि त्यही चक्रको मौन तर अत्यन्त महत्त्वपूर्ण सदस्य हो। उसले न त जंगलको राजा बन्न खोज्छ, न आकाशको स्वामी। ऊ केवल आफ्नो अस्तित्वको धर्म निर्वाह गर्छ। त्यसैले सर्पलाई बुझ्नु भनेको प्रकृतिको दर्शन बुझ्नु पनि हो।
हरेक वर्ष जुलाई १६ मा मनाइने विश्व सर्प दिवस मानिसलाई आफ्नो दृष्टिकोण पुनर्विचार गर्न आग्रह गर्ने दिन हो। हामीले सर्पलाई प्रकृतिले उसलाई सन्तुलनसँग जोडेको छ। हामीले उसलाई भयको प्रतीक बनायौँ तर प्रकृतिले उसलाई जीवनको निरन्तरताको संरक्षक बनाएकी छ।
सर्पको शरीरलाई ध्यान दिएर हेर्ने हो भने त्यसमा एउटा अद्भुत सौन्दर्य लुकेको देखिन्छ। उसका खप्टाहरू सूर्यको प्रकाशमा रत्नझैँ चम्किन्छन्। उसका चालमा कुनै हतार छैन। ऊ मौन छ, तर निर्जीव होइन। ऊ नाच्दैन, तर उसको गति आफैँमा एउटा लय हो। ऊ बोल्दैन, तर उसको मौनताले धेरै कुरा सिकाउँछ। प्रकृतिले सर्पलाई खुट्टा दिएन, तर त्यसैले उसको यात्रालाई रोक्न सकेन। ऊ पेटको बलमा पनि संसारका कठिन भूभाग पार गर्छ। जीवनले साधनभन्दा सङ्कल्पलाई ठूलो बनाउँछ भन्ने सन्देश सर्पले आफ्नै अस्तित्वबाट दिन्छ।
सर्पले कहिल्यै अनावश्यक आक्रमण गर्दैन। अधिकांश सर्प मानिसलाई देखेपछि भाग्न खोज्छन्। उनीहरू आत्मरक्षाका लागि मात्र विष प्रयोग गर्छन्। तर मानिसले भने डरका कारण धेरैजसो सर्पलाई देख्नेबित्तिकै मार्ने निर्णय गर्छ। यहाँ प्रश्न उठ्छ। वास्तविक हिंस्रक को हो? आत्मरक्षाका लागि डस्ने सर्प कि बिना कारण मार्ने मानिस?
प्रकृतिको न्याय मानव न्यायभन्दा फरक हुन्छ। प्रकृतिले कुनै पनि जीवलाई अनावश्यक बनाउँदिन। सर्पले मुसा, छेपारा र अन्य साना जीवहरूको सङ्ख्या नियन्त्रण गरेर कृषि प्रणाली र खाद्य शृङ्खलालाई सन्तुलित राख्छ। यदि सर्प नहुने हो भने मुसाको सङ्ख्या अनियन्त्रित रूपमा बढ्न सक्छ, जसले अन्नबाली, खाद्य भण्डारण र मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। एउटा सर्पले प्रत्यक्ष रूपमा किसानको खेत जोगाइरहेको हुन्छ। त्यसैले सर्प जंगलको मात्र होइन, कृषिको पनि मित्र हो।
दर्शनले सधैँ बाहिरी रूपभन्दा भित्री सत्य खोज्छ। सर्पको जीवन पनि एउटा दार्शनिक पाठ हो। सर्पले समय समयमा आफ्नो पुरानो छाला त्याग्छ। यो जैविक प्रक्रिया मात्र होइन परिवर्तनको अद्भुत रूपक पनि हो। पुरानो आवरण नत्यागेसम्म नयाँ वृद्धि सम्भव हुँदैन। मानिसको जीवन पनि त्यस्तै हो। पुराना अहङ्कार, पूर्वाग्रह, घृणा र अज्ञानता त्याग्न नसक्ने हो भने नयाँ चेतनाको जन्म हुँदैन। सर्पले छाला फेर्छ; मानिसले सोच फेर्नुपर्छ।
पूर्वीय दर्शनमा सर्प चेतनाको प्रतीक पनि हो। भगवान् शिवको गलामा विराजमान नागले भयमाथिको विजयलाई संकेत गर्छ। विष्णु अनन्त शेषमाथि विश्राम गर्नुले ब्रह्माण्डीय स्थिरताको भाव व्यक्त गर्छ। योगदर्शनमा कुण्डलिनी शक्तिलाई कुण्डली मारेको सर्पसँग तुलना गरिन्छ, जसको जागरणलाई आत्मिक उन्नतिको प्रतीक मानिन्छ। यी सबै प्रतीकहरूले सर्पलाई ज्ञान, शक्ति, धैर्य र आध्यात्मिक जागरणसँग जोड्छन्।
नेपालको सांस्कृतिक जीवनमा पनि सर्पप्रति गहिरो सम्मान छ। नागपञ्चमीका दिन घरका ढोकामा नागको चित्र टाँस्ने, नागदेवताको पूजा गर्ने र जल अर्पण गर्ने परम्परा छ। यसले मानिस र प्रकृतिबीचको सहअस्तित्वको सन्देश बोकेको छ। हाम्रो पूर्वजहरूले डरभन्दा सम्मानलाई ठूलो मानेका थिए। त्यसैले पूजा भनेको सर्पलाई देवता बनाउनु मात्र होइन जीवनका सबै रूपको अस्तित्व स्वीकार गर्नु पनि हो।
आज विज्ञानले पनि पुष्टि गरेको छ कि सर्पको विष जीवन बचाउने औषधिको स्रोत पनि हो। आधुनिक चिकित्साशास्त्रमा सर्पको विषबाट उच्च रक्तचाप, रगत जम्ने समस्या, स्नायु रोग तथा अन्य उपचारका लागि औषधि विकास भइरहेका छन्। जसलाई हामी केवल खतरा सम्झन्छौँ, त्यसैभित्र उपचारको सम्भावना पनि लुकेको हुन्छ। प्रकृतिले कहिल्यै एकपक्षीय सत्य बनाउँदिन।
विश्वमा तीन हजार पाँच सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन्। तीमध्ये थोरै मात्र अत्यन्त विषालु छन्। नेपालमा पनि धेरैजसो सर्प विषरहित छन्। तर हाम्रो डरले सबैलाई एउटै दृष्टिले हेर्छ। यही पूर्वाग्रह समाजमा पनि देखिन्छ। एउटा व्यक्तिको गल्तीका आधारमा सम्पूर्ण समुदायलाई दोष दिने प्रवृत्ति, एउटा घटनाबाट सम्पूर्ण सत्यको निष्कर्ष निकाल्ने प्रवृत्ति यी सबै मानसिकता सर्पप्रतिको अज्ञानतासँग मिल्दोजुल्दो छन्। ज्ञानले भिन्नता देख्छ; अज्ञानले सबैलाई एउटै बनाइदिन्छ।
सर्पले अर्को महत्त्वपूर्ण पाठ पनि सिकाउँछ।ऊ आवश्यकताभन्दा बढी लिँदैन। ऊ शिकार गर्छ, तर सञ्चय गर्दैन। ऊ प्रकृतिको नियमभित्र बाँच्छ। मानिसले भने आवश्यकता भन्दा धेरै उपभोग गर्न सिक्यो। जंगल काट्यो। नदी प्रदूषित बनायो। वन्यजन्तुको बासस्थान नष्ट गर्यो। त्यसपछि सर्प मानव बस्तीमा देखिन थाले। वास्तवमा सर्प हाम्रो घरमा आएको होइन। हामी उसको घरभित्र पसेका हौँ।
जलवायु परिवर्तन, वन विनाश र अनियन्त्रित सहरीकरणले सर्पसहित धेरै वन्यजन्तुको जीवन संकटमा परेको छ। जैविक विविधता घट्दै जाँदा पृथ्वीको सन्तुलन पनि कमजोर हुँदै गएको छ। एउटा प्रजातिको विनाश अर्को प्रजातिको भविष्यसँग जोडिएको हुन्छ। त्यसैले सर्पको संरक्षण केवल सर्पका लागि होइन; सम्पूर्ण पारिस्थितिक प्रणालीका लागि आवश्यक छ।
अवश्य, सर्पदंश गम्भीर स्वास्थ्य समस्या हो। नेपालमा प्रत्येक वर्ष धेरै मानिस सर्पदंशबाट प्रभावित हुन्छन्। त्यसैले सावधानी आवश्यक छ। सर्प देखेमा सुरक्षित दूरी कायम गर्ने, अनावश्यक रूपमा नछुने, घर वरिपरि झाडी सफा राख्ने, राति टर्च प्रयोग गर्ने र सर्पले टोकेमा झारफुक वा अन्धविश्वासमा नलागी तत्काल स्वास्थ्य संस्थामा पुग्ने बानी नै जीवनरक्षक उपाय हुन्। संरक्षण र सुरक्षा एकअर्काका पूरक हुन्।
विश्व सर्प दिवसले अन्ततः एउटा नैतिक प्रश्न उठाउँछ हामी प्रकृतिसँग कस्तो सम्बन्ध चाहन्छौँ? डरको, प्रभुत्वको कि सहअस्तित्वको? पृथ्वी मानिसको मात्र सम्पत्ति होइन। यो असंख्य जीवहरूको साझा घर हो। प्रत्येक जीवसँग बाँच्ने अधिकार छ। यही अधिकारको सम्मान गर्नु नै सभ्यताको वास्तविक मापन हो।
सर्पलाई हेर्ने दृष्टि बदल्नु भनेको जीवनलाई हेर्ने हाम्रो दर्शन बदल्नु पनि हो। जहाँ डर हुन्छ, त्यहाँ विनाश जन्मन्छ। जहाँ ज्ञान हुन्छ, त्यहाँ सम्मान जन्मन्छ। जहाँ सम्मान हुन्छ, त्यहाँ संरक्षण सम्भव हुन्छ।
त्यसैले विश्व सर्प दिवसको सन्देश स्पष्ट छ सर्पलाई अन्धविश्वासको आँखाले होइन, विज्ञानको दृष्टिले हेरौँ। घृणाको भावले होइन, सहअस्तित्वको चेतनाले बुझौँ। प्रकृतिले कुनै पनि जीवलाई व्यर्थ बनाएकी छैन। प्रत्येक जीवनको आफ्नै अर्थ छ, आफ्नै भूमिका छ र आफ्नै सौन्दर्य छ।

