काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले बुधबार नगरसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याइएको जानकारी दिइन्।
प्रस्तावित बजेटअनुसार चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। कर्मचारीको तलब, पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता तथा अन्य प्रशासनिक दायित्वमा वृद्धि हुने अनुमानका आधारमा चालु खर्च गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढाइएको महानगरले जनाएको छ।
उपमेयर बज्राचार्यका अनुसार चालु आर्थिक वर्षमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा आगामी वर्षका लागि कर्मचारी तलबवृद्धि, प्रोत्साहन भत्ता तथा अन्य अनिवार्य दायित्वका कारण करिब २८ करोड रुपैयाँ थप खर्च हुने प्रक्षेपण गरिएको छ।
यता, पुँजीगत खर्चतर्फ भने ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ। चालु आर्थिक वर्षमा ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ रहेको पुँजीगत बजेट आगामी वर्षका लागि करिब २७ करोड रुपैयाँले घटाइएको हो। संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले पुँजीगत खर्चमा करिब ६ प्रतिशत कटौती गर्नुपरेको महानगरको भनाइ छ।
महानगरले वडास्तरीय विकास कार्यक्रम तथा विषयगत क्षेत्रका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। साथै बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायबाट मासिक प्रतिवेदन (रिपोर्टिङ) प्रणाली लागू गरिने उपमेयर बज्राचार्यले जानकारी दिइन्।
बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानगरले आगामी वर्षका विकास तथा सेवा प्रवाहका कार्यक्रम अघि बढाउने जनाएको छ।

