काठमाडौं । प्रहरीले राजधानीका विभिन्न क्षेत्रबाट २४ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार सितापाइला, डल्लुलगायतका स्थानमा गरिएको निगरानी तथा जाँचका क्रममा पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बसोबास गरिरहेका २४ विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सबै बंगलादेशी नागरिक हुन्। उनीहरू पर्यटक भिसामा नेपाल आए पनि विभिन्न कपडा कारखानामा काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गैरकानुनी रूपमा बसोबास तथा श्रम गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
विदेशी नागरिकको बसोबास, भिसा अवस्था तथा रोजगारी गतिविधिमाथि निगरानी बढाइरहेको प्रहरीले यस्ता अनियमित गतिविधिविरुद्ध थप अनुगमन जारी रहने जनाएको छ।

