काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले हाइटीलाई ४–२ गोलले पराजित गर्दै अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा दुई पटक पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै मोरक्कोले महत्वपूर्ण जित निकालेको हो।
लामो अन्तरालपछि विश्वकपमा पुनरागमन गरेको क्यारेबियन राष्ट्र हाइटीले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै मोरक्कोलाई दबाबमा राखेको थियो। विश्वकप इतिहासमै पहिलो अंक हासिल गर्ने लक्ष्यसहित मैदान उत्रिएको हाइटीले दुई पटक अग्रता लिए पनि अन्ततः त्यो अग्रता जोगाउन सकेन।
खेलको १०औँ मिनेटमा मोरक्कोका गोलरक्षक यासिन बोनोबाट भएको आत्मघाती गोलमार्फत हाइटीले अप्रत्याशित अग्रता लिएको थियो। तर ३९औँ मिनेटमा कप्तान अकराफ हाकिमीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई बराबरीमा फर्काए।
पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा विल्सन इसिडोरले गोल गर्दै हाइटीलाई पुनः २–१ को अग्रता दिलाए। तर इन्जुरी समयमै इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई २–२ को अवस्थामा पुर्याए र पहिलो हाफ बराबरीमा टुंगियो।
दोस्रो हाफमा मोरक्कोले खेलमाथि नियन्त्रण जमाउँदै थप दुई गोल गर्यो। प्रशिक्षकले मैदानमा उतारेका वैकल्पिक खेलाडीहरूको प्रभावशाली प्रदर्शनले हाइटीको चुनौती समाप्त पार्दै मोरक्कोलाई महत्वपूर्ण जित दिलायो।
यस नतिजासँगै मोरक्को तीन खेलबाट ७ अंक जोड्दै समूह ‘सी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। समान ७ अंक भए पनि उत्कृष्ट गोल अन्तरका आधारमा ब्राजिल समूह विजेता बनेको छ। ब्राजिलले समूह चरणको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ३–० ले पराजित गरेको थियो।
हाइटी भने प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद समूह चरणबाटै बाहिरिएको छ। विश्वकपमा पहिलो अंकको खोजीमा रहेको टोलीको सपना यसपटक पनि अधुरै रह्यो।

