काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चाङ माओमिङ बीच विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको छ।
मन्त्री पुनले मन्त्रालयमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सन् २०२३ मा नेपाल र चीनबीच भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सहकार्य सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संयुक्त समिति गठन गर्ने विषयमा कुराकानी भएको बताएका छन्। सम्झौता सम्पन्न भए पनि त्यसको कार्यान्वयन अपेक्षित रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै उनले अब त्यसलाई परिणाममुखी बनाउने दिशामा दुवै पक्ष सकारात्मक रहेको जानकारी दिएका छन्।
भेटका क्रममा नेपालमा नवप्रवर्तन केन्द्रहरूको विकास, जैविक प्रविधि क्षेत्रमा अनुसन्धान तथा विकास, उच्च हिमाली क्षेत्र तथा हिमाली जडीबुटीसम्बन्धी अध्ययन–अनुसन्धान, साथै वातावरणीय तथा पारिस्थितिक अनुगमनका लागि उपग्रहबाट प्राप्त तथ्याङ्क आदानप्रदान गर्ने विषयमा समेत सहमति भएको मन्त्री पुनले बताएका छन् ।
यस्तै, जलवायु परिवर्तनसम्बन्धी अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने, अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूको आदानप्रदान, क्षमता अभिवृद्धि र तालिम कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल केन्द्रित भएको जनाइएको छ।
भेटवार्ताका क्रममा राजदूत माओमिङले चीनले आफ्नो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब २.८ प्रतिशत हिस्सा अनुसन्धान तथा विकास (आर एन्ड डी) मा लगानी गर्दै आएको जानकारी दिएका थिए। उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेर चीन सरकारले तयार गरेको १५औँ पञ्चवर्षीय योजनाबारे पनि जानकारी गराउँदै त्यससम्बन्धी विस्तृत दस्तावेज मन्त्री पुनलाई हस्तान्तरण गरेका थिए।
मन्त्री पुनले उक्त दस्तावेज नेपालका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रको दीर्घकालीन विकासका लागि चीनको अनुभव र अभ्यासबाट महत्वपूर्ण ज्ञान तथा सिकाइ प्राप्त गर्न सकिने बताएका छन्।

