काठमाडौँ । स्विट्जरल्यान्डले घरेलु टोली क्यानडामाथि २–१ को महत्वपूर्ण जित निकाल्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा प्रभावशाली प्रदर्शन गर्दै स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेताका रूपमा अघिल्लो चरणमा पुगेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा स्विट्जरल्यान्डले दोस्रो हाफको सुरुआतमै अग्रता बनायो। खेलको ४६औँ मिनेटमा रुबेन वर्गासले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसको ११ मिनेटपछि, ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थप्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए।
दुई गोलले पछि परेको क्यानडाले खेलमा फर्कने प्रयासस्वरूप ७६औँ मिनेटमा प्रमिस डेभिडमार्फत गोल गर्न सफल भयो। तर बाँकी समयमा थप गोल निस्कन नसक्दा क्यानडा घरेलु मैदानमै पराजित हुन पुग्यो।
यस जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट ७ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान हासिल गरेको छ। पराजित क्यानडा भने ४ अंकसहित दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
समूहको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले पराजित गर्दै ४ अंक नै जोडेको छ। तर गोलअन्तरमा पछि परेपछि बोस्निया तेस्रो स्थानमा सीमित रह्यो। यद्यपि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जीवित छ।
लगातार निराशाजनक प्रदर्शन गरेको कतारले भने तीन खेलबाट केवल १ अंक बटुल्दै विश्वकप यात्राको अन्त्य गरेको छ। समूह चरणबाटै बाहिरिएको कतार प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमध्ये एक बनेको छ।

