लोभले गाँठो बाँधिएको,
मनभित्रै थन्किएको धन,
गरिब र असहायको आँसु पुछ्न
एक रुपैयाँ पनि नखर्चिने धन,
त्यो धन के धन ?
आफूले पनि नखाई, नलगाई,
सधैँ थुपारेर राखिएको धन,
मानवताभन्दा माथि उठेको
निर्जीव अहङ्कार बनेको धन,
त्यो धन के धन ?
शिक्षा र स्वास्थ्यको उज्यालोमा
कहिल्यै नबगेको धन,
रोग र अज्ञान हटाउन
काम नलाग्ने धन,
त्यो धन के धन ?
घुमफिर, अनुभव र खुसीमा
कहिल्यै नफर्किएको धन,
जीवनभरि गनेर बसे पनि
जीवन नै नबाँच्ने धन,
त्यो धन के धन ?
सेवा, परोपकार र दयाको बाटोमा
एक पाइला नचलेको धन,
अरूको पीडामा मौन बसेको
संवेदनाहीन धन,
त्यो धन के धन ?
राज्यलाई कर छली गरेर
लुकाई–छिपाई बचाएको धन,
राष्ट्रको विकास रोक्ने
अनैतिक कमाइको धन,
त्यो धन के धन ?
धन त त्यही धन हो,
जसले मानवताको मान बढाओस्,
दुःखीको अनुहारमा मुस्कान छराओस्,
शिक्षा, स्वास्थ्य र सेवामा बगाओस्,
राष्ट्र र समाजको हितमा लगाओस्।
नत्र त केवल अंकको थुप्रो हो,
हृदय नभएको निर्जीव वस्तु हो,
मानिसका लागि काम नलाग्ने
त्यो धन, आखिर के धन ?॥

