काठमाडौँ,
नेपाली साहित्यिक क्षेत्रमा दुई दशकदेखि निरन्तर साधना गरिरहेकी कवयित्री विमुन्स पौडेलका दुई नयाँ कविता सङ्ग्रहहरू शनिवार एक विशेष समारोहका बीच सार्वजनिक भएका छन् । टङ्गालस्थित ऐतिहासिक राधाकृष्ण देवस्थानको प्राङ्गणमा आयोजित कार्यक्रममा पौडेलका ‘सकस’ र ‘नसुनिने आवाज’ नामक दुई कृतिहरू लोकार्पण गरिएका हुन् ।
जेपी प्रतिष्ठानकी अध्यक्ष शकुन्तला दाहालको अध्यक्षता तथा वरिष्ठ भाषाविद् एवं विद्वान् मुकुन्द शरण उपाध्यायको प्रमुख आतिथ्यता एवं प्रा.डा.शैलेन्दु प्रकाश नेपाल तथा नेपाली कांग्रेसका नेता गुरु बराल लगायतका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन र बटुकहरूद्वारा स्वस्ति वाचन गरी सुरु गरिएको उक्त समारोहमा विभिन्न बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विमोचित कृतिहरूमध्ये ‘नसुनिने आवाज’ माथि समीक्षात्मक टिप्पणी राख्दै डा.पुरुषोत्तम दाहालले विमुन्सका कविताले सामाजिक भावना र जीवन दर्शनलाई गहिरोसँग समेटेको बताउनुभयो । उहाँले कवयित्रीको साहित्यिक चेतना र वाक्य संरचनाको प्रशंसा गर्दै कविताहरूले पाठकको मन छुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, अर्को सङ्ग्रह ‘सकस’ का बारे बोल्दै डा. रत्नमणि नेपालले विमुन्सको लेखन क्षमता र समाजको यथार्थ ऐना देखाउन सक्ने खुबीको चर्चा गर्नुभयो । नेपाली लेखक सङ्घका कोषाध्यक्ष विसु कुमार केसीले विमुन्सको नेपाली र हिन्दी दुवै साहित्यमा दख्खल रहेको उल्लेख गर्दै ‘सकस’ ले व्यक्तिगत एवं सामाजिक जटिलता र ‘नसुनिने आवाज’ ले ओझेलमा परेका स्वरहरूलाई मुखरित गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मुकुन्द शरण उपाध्यायले साहित्य साधना गर्दा भाषाको मर्यादा र मौलिकता जोगाउनुपर्नेमा जोड दिँदै विमुन्सलाई साहित्यिक उन्नयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सो समारोहमा कविहरू कल्पना भट्टराई, सरस्वती अर्याल, निश्चल पराजुली र कविराज भट्टले विमोचित सङ्ग्रहबाट कविता वाचन गरेका थिए। लक्ष्मी प्रसाद पराजुली, वैकुण्ठ भण्डारी लगायतले कविलाई सिर्जनशील निरन्तरता का लागि शुभकामना दिनुभएको थियो ।
लेखकीय मन्तव्यका क्रममा कवयित्री विमुन्स पौडेलले आफ्ना कृतिहरूको लेखन र प्रकाशनका क्रममा आएका उतारचढावबारे चर्चा गर्दै सहयोगी व्यक्तित्वहरूप्रति आभार प्रकट गर्नुभयो । रत्न विरही घिमिरेद्वारा सहजीकरण गरिएको कार्यक्रमकी अध्यक्ष शकुन्तला दाहालले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको थियो ।

