अम्बिका वाईवा
बन्दुक बोक्ने ती हातहरूले
कहिल्यै हार नमानेका सपना बुनेका थियौँ,
क्रान्तिको रातो बाटो हिँडेर
नयाँ बिहानी रोजेका थियौँ।१।
हिजोका ती लडाकु जोडी,
आज समाजका खम्बा बनेका छौँ,
घाउका सम्झना बोकेर पनि
आशाका दीप जलाउँदै हिँडेका छौँ।२।
सिलाईको त्यो सानो मेसिनसँगै
आत्मनिर्भरताको गीत गाउन थालेकी छु,
लालबन्दीको माटोमाथि
पसिनाको रङ भर्न थालेकी छु।३।
महिला हक र न्यायका लागि
आवाज उठाउँदै अघि बढेकी छु,
संघर्षलाई शक्तिमा बदल्दै
नेतृत्वको बाटो समातेकी छु।४।
जेठी छोरी राष्ट्रको सान,
माइलो छोरा अन्तर्राष्ट्रिय शान बने,
करातेको मञ्चमा चम्किएका ती तारा
मेरो संघर्षका प्रमाण बने।५।
योद्धा आमा, योद्धा बुबा—
परिवार नै साहसको पाठशाला,
अनुशासन र अठोटको कथा
हाम्रो जीवनको अमर माला।६।
हिजो लड्यौँ व्यवस्था फेर्न,
आज लड्दैछौँ अवस्था फेर्न,
आऊ सबै मिलेर अघि बढौँ
नयाँ नेपालको उज्यालो हेर्न।७।
अम्बिका— एउटा नाम मात्र होइन,
एउटा संकल्प, एउटा इतिहास हो,
श्रम, शक्ति र ममताले बुनेको
जिउँदो, अविचलित गाथा हो।८।

