पोखरा —नेकपा एमालेका नेता कृष्ण थापाको निधन भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) कास्कीका इन्चार्ज समेत रहेका थापाको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।
एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै उनी अचानक ढलेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले हृदयघातका कारण उनको निधन भएको जनाएको छ।
बिहीबार पार्टी कार्यालयमा कास्की निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक आयोजना गरिएको थियो। सोही बैठकमा उनले करिब १० मिनेट बोलेपछि अचानक अस्वस्थ भएर ढलेका एमाले नेताहरूले बताए।
थापा गण्डकी प्रदेशका पूर्व सांसद समेत हुन्। उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएका थिए।

