काठमाडौँ । ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजाय पाएका गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्। चार बर्ष हुँदा नहुँदै गुरुङ बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
जिल्ला अदालत, काठमाडौंले फैसला कार्यान्वयनको क्रममा उनलाई २० प्रतिशत कैद छुट दिएकाले मनाङे पाँच वर्षकै सजायमध्ये एक वर्ष सजाय कम भएर जेलमुक्त भएको हुन् ।
गत वर्ष कात्तिकमा पक्राउ परेपछि मनाङेले अदालतमा कैद छुट पाउने सुविधा मागेका थिए र न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सुविधा दिने फैसला गरेको थियो।
उनले फैसला कार्यान्वयनअघि भूमिगत रहेका बेला केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको थियो। गत २० कात्तिकमा सर्वोच्च अदालतले उनलाई पाँच वर्ष कैद सजाय हुने उच्च अदालतको फैसला सदर गरेको थियो। फरार रहेका उनलाई २७ कात्तिकमा स्वयम्भूबाट पक्राउ गरिएको थियो।
मुद्दा अनुसार, ०६१ साल वैशाख ३१ गते महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा मिलन गुरुङ (मिलन चक्रे)लाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका थिए। अदालतले उनलाई दोषी ठहर गर्दा मनाङेले पीडितसँग पूर्वरिसइवी रहेको, आक्रमण प्रयास भएको तर इच्छित परिणाम नआएको जस्ता आधारमा सजाय सुनाएको थियो।
सर्वोच्च अदालतको फैसला पछि उनका सांसद पद रिक्त भइसकेको छ।

