काठमाण्डौ। सुर्खेतको वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा एक किशोरी मृत अवस्थामा फेला परेको घटनाप्रति विभिन्न सङ्घसंस्थाले गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको घटनाले आफूहरू स्तब्ध बनेको जनाउँदै सुर्खेतका विभिन्न सङ्घसंस्थाले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरिएको छ।
वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी ती बालिकामाथि भएको घटना अमानवीय र निन्दनीय भएको उल्लेख गर्दै समाजमा महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य नहुने बताइएको छ। सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिबद्धता र सक्रिय भूमिका आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
साथै महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र अपराधका घटना रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी र सचेतनामूलक कार्यक्रमलाई थप सुदृढ बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली तथा सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समूह सुर्खेतलगायत संस्थाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढङ्गले अनुसन्धान हुने तथा कानुनअनुसार न्याय सुनिश्चित गरिने विश्वास व्यक्त गरेका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीमाथि कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढाइने र पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते दिएको उजुरीका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई मङ्गलबार पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ परेकामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए।
प्रहरीका अनुसार परिवारले हालसम्म बालिकाको शव बुझेका छैनन्। पीडित परिवारले दिएको जाहेरीका आधारमा थप अनुसन्धानका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी प्रतिवेदन दिएको छ।
गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुल सुर्खेतमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। बिहान करिब ९ बजे स्थानीयले जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला पारेपछि प्रहरीले प्रदेश अस्पताल सुर्खेत पुर्याएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

