काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
त्यसैगरी आज राति पनि कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको महाशाखाले जनाएको छ।

