काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंक का अनुसार माघ मसान्तसम्म विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (माघसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको देखिएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले मात्र बढेको थियो।
प्रतिवेदनअनुसार गत माघ महिनामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो।
गत माघ मसान्तसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ।
यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि बढेर रु १३ खर्ब ८४ अर्ब २७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु नौ खर्ब ८६ अर्ब ३४ करोड रहेको थियो।
त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ।

