काठमाडौं– सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीशका लागि छ जना न्यायाधीशको नाम सिफारिस भएको छ।
वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाशमा जाँदैछन्। उनी ६५ वर्ष पुगेपछि पदबाट बिदा हुनेछन्।
यससँगै न्याय परिषद् ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।
प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष काम गरेको न्यायाधीश योग्य मानिने व्यवस्था छ। साथै प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।
हालै प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकाले संवैधानिक परिषद् ले अझै पूर्णता पाएको छैन। अहिले सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताको टुंगो नलागेकाले परिषद् पूर्णरूपमा सक्रिय हुन सकेको छैन।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषद्ले सिफारिस गरेको प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्र औपचारिक रूपमा नियुक्त गरिनेछ।

