भक्तपुर । भक्तपुरको छालिङस्थित ऐतिहासिक मत्स्यनारायण मन्दिरमा सञ्चालन भएको एकमहिने पुरुषोत्तम मेला सोमबार सम्पन्न भएको छ। धार्मिक आस्था, सत्सङ्ग, प्रवचन र भजनकीर्तनले भरिएको मेलामा हजारौँ भक्तजनको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।
चाँगुनारायण नगरपालिका–५ गोकुलधाममा अवस्थित करिब तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा आयोजित मेलाका क्रममा दैनिक रूपमा पूजा–आराधना, पुरुषोत्तम महात्म्य वाचन, धार्मिक प्रवचन तथा भजनकीर्तनका कार्यक्रम सञ्चालन गरिएको थियो। मेला व्यवस्थापन समितिका संयोजक गोकर्ण पुरीका अनुसार मेलाको सम्पूर्ण व्यवस्थापन स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न गरिएको हो।
भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र तथा काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु मन्दिर दर्शनका लागि पुगेका थिए। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिर पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको समेत आकर्षणको केन्द्र बन्दै गएको छ।
मन्दिरका संरक्षकसमेत रहेका पुरीले मन्दिरको इतिहास निकै पुरानो रहेको उल्लेख गर्दै पुरातात्त्विक अध्ययन आवश्यक रहेको बताए। उनका अनुसार दुई पीपलका रूखबीच रहेको पुरानो मन्दिर जीर्ण भएपछि पुनर्निर्माण गरिएको हो। पुरानो शिलालेख माटोमुनि दबिएको हुन सक्ने भएकाले उत्खनन र अनुसन्धान आवश्यक देखिएको उनले बताए। मन्दिरमा करिब एक सय वर्ष पुरानो पूजा थाली अझै सुरक्षित रहेको जानकारी पनि उनले दिए।
तीन साना खोलाको सङ्गमस्थलमा रहेको यस क्षेत्रलाई ‘त्रिवेणी धाम’का रूपमा चिनिन्छ। मन्दिर परिसरमा ६४ शिवलिङ्ग, सप्तऋषि मन्दिर, कृष्णवर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर तथा पवित्र कुण्ड रहेका छन्। मलमास अवधिमा मात्रै ५० हजारभन्दा बढी श्रद्धालु यहाँ पुग्ने गरेको बताइन्छ।
स्थानीय जनविश्वासअनुसार मन्दिर परिसरको कुण्डमा स्नान गरी पूजा–अर्चना गरेमा छालासम्बन्धी तथा अन्य विभिन्न रोगबाट मुक्ति मिल्ने विश्वास रहिआएको छ। यसै वर्ष श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्मित २५ हजार ७७७ किलोग्राम तौलको गीताचार्य भगवान् श्रीकृष्णको विराट मूर्ति स्थापना गरिएपछि धार्मिक आकर्षण झन् बढेको वडा अध्यक्ष जयन्द्र खड्काले बताए।
यसैबीच, भक्तपुर नगरपालिका–६ स्थित अञ्चा पोखरी (ख्यो पुखु) क्षेत्रमा सञ्चालन भएको एकमहिने पुरुषोत्तम मेला पनि सोमबार सम्पन्न भएको छ। मेलाका क्रममा नारायण पूजा, धार्मिक पाठ तथा स्नान–दर्शनका कार्यक्रम सञ्चालन गरिएको थियो।
स्थानीय धार्मिक मान्यताअनुसार यहाँको कुण्डमा स्नान गरी मत्स्यनारायणको दर्शन गर्दा रोगव्याधि र पापकर्म नष्ट हुने विश्वास रहेकाले मेलाभर भक्तजनको उल्लेख्य उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ।

