काठमाण्डौ । विश्वकप फुटबल- २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकपमा सुखद् सुरुआत गरेको छ।
मेक्सिकोको सिटी रङ्गशालामा गएराति भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरेका हुन्।
खेल सुरुआतको मात्र नवौं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआति अग्रता दिलाएका हुन्।
इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका थिए। खेलको ४९ औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सिमित बनेको थियो।
त्यसपछि खेलको ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।
खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका ९ खेलाडीमा सिमिति बन्यो। खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान छोडे।
विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ। आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबिच प्रतिस्पर्धा हुनेछ। उक्त खेल शुक्रबार (आज) बिहान पौने आठ बजेदेखि सुरु हुने छ।

