काठमाडौँ । अमेरिका र इरानबीच जारी लामो सैन्य तनाव अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुवै पक्षले युद्धविरामलाई थप ६० दिन विस्तार गर्ने तथा विश्वको प्रमुख तेल मार्ग मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति गरेको बताइएको छ।
सम्झौताको औपचारिक हस्ताक्षर आगामी शुक्रबार स्विजरल्याण्डमा हुने उल्लेख गरिएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा भएको वार्ताले दुई देशबीच १०० दिनभन्दा लामो सैन्य तनाव कम गर्ने आधार तयार गरेको बताइन्छ।
प्रारम्भिक सहमतिअनुसार होर्मुज जलडमरूमध्यलाई पुनः व्यावसायिक जहाज आवागमनका लागि खुला गर्ने, सैन्य गतिविधि रोक्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ता अघि बढाउने विषय समावेश छ। यद्यपि युरेनियम भण्डारण, प्रशोधन र दीर्घकालीन आणविक योजनाबारे अन्तिम सहमति अझै हुन बाँकी रहेको जनाइएको छ। यी विषयमा आगामी ६० दिनभित्र थप छलफल हुने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नजिक पुगेको संकेत गरेका छन् भने इरानी अधिकारीहरूले पनि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्।
सम्झौताको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको र शेयर बजारमा सुधार देखिएको बताइन्छ।
मस्यौदा सम्झौतामा के–के छन्?
इरानको सरकारी निकट समाचार संस्था मेहरका अनुसार प्रस्तावित मस्यौदा सम्झौतामा १४ बुँदा समावेश छन्, यद्यपि यी विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
उक्त मस्यौदाअनुसार लेबनानसहित विभिन्न मोर्चामा तत्काल र स्थायी युद्धविराम, ३० दिनभित्र समुद्री नाकाबन्दी हटाउने, इरान वरपर अमेरिकी सैन्य उपस्थिति घटाउने वा फिर्ता गर्ने प्रतिबद्धता रहेको उल्लेख छ।
त्यसैगरी होर्मुज जलमार्ग पूर्ण रूपमा खोल्ने, इरानी तेल निर्यातमाथिका केही प्रतिबन्ध आंशिक रूपमा निलम्बन गर्ने, सम्झौतामा हस्ताक्षर भएको ६० दिनभित्र आणविक विषयमा अन्तिम सहमति गर्ने तथा वार्ता अवधिमा इरानका करिब २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रस्ताव पनि समावेश रहेको जनाइएको छ।
मेहरका अनुसार इरानले अन्तिम वार्ता अघि दुई मुख्य सर्त राखेको छ— रोक्का सम्पत्तिको कम्तीमा आधा फुकुवा हुनुपर्ने र होर्मुज जलडमरूमध्यसम्बन्धी अवरोध तथा प्रतिबन्ध पूर्ण रूपमा हटाइनुपर्ने।
(एजेन्सीहरूको सहयोगमा)

