काठमाडौँ । पाँचपटकको विश्व विजेता तथा उपाधि दाबेदार ब्राजिलले फिफा विश्वकप–२०२६ को समूह ‘सी’ अन्तर्गत आफ्नो पहिलो खेलमा जित निकाल्न सकेन। आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको २१औँ मिनेटमा इस्माइल साइबरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। तर ब्राजिलले त्यसको जवाफ दिन धेरै समय लगाएन। ३२औँ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल थप्न नसक्दा खेल १–१ को बराबरीमा टुंगियो।
यस नतिजासँगै ब्राजिल र मोरक्कोले समूह चरणको पहिलो खेलबाट समान एक–एक अंक जोडेका छन्।
उल्लेखनीय छ, मोरक्कोले सन् २०२२ को विश्वकपमा ऐतिहासिक प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि उसले बलियो ब्राजिललाई रोक्दै आफ्नो चुनौतीपूर्ण उपस्थितिको संकेत दिएको छ।

