काठमाडौँ । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। बिहीबार बिहान घरबाट बाहिर निस्कने क्रममा जंगली हात्तीले आक्रमण गर्दा ६२ वर्षीया पद्मा पौडेलको घटनास्थलमै ज्यान गएको हो।
मेचीनगर नगरपालिका–४ वडा कार्यालयअगाडि बसोबास गर्दै आएकी पौडेललाई अचानक गाउँ पसेको हात्तीले कुल्चिएको प्रहरीले जनाएको छ। आक्रमण यति भयावह थियो कि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले घटनास्थललाई सुरक्षित बनाएको थियो। साथै, थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक वीरेन्द्र कोइरालाको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीका अनुसार पछिल्लो एक सातायता करिब एक सयको संख्यामा जंगली हात्ती नेपाल प्रवेश गरेका छन्। हात्तीको बढ्दो आवतजावतसँगै सीमावर्ती क्षेत्रमा त्रास बढेको छ भने मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि प्रभावकारी उपायको माग पनि तीव्र बन्दै गएको छ।

