ढोरपाटन (बागलुङ)। बागलुङको ढोरपाटन क्षेत्रमा दादुरा सङ्क्रमण देखिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। ढोरपाटन नगरपालिका–७, ८ र ९ मा हालसम्म पाँच जनामा दादुरा पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सङ्क्रमणको आशंका बढेपछि बोबाङ स्वास्थ्य चौकी र बुर्तिबाङ अस्पतालमा २६ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमित बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।
ढोरपाटन क्षेत्रमा दादुरा देखिएपछि स्थानीय समुदायमा चिन्ता बढेको घिमिरेले बताए। उनले कसैमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्दै सङ्क्रमण नियन्त्रणका लागि खोप अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए।
अहिलेसम्म पाँच जनामा दादुरा पुष्टि भइसकेको छ भने १४ जनाको नमुना परीक्षणका लागि राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाइएको छ। विशेषगरी १० देखि २० वर्ष उमेर समूहका व्यक्तिमा शङ्कास्पद लक्षण देखिएको घिमिरेले बताए।
उनका अनुसार शङ्कास्पद बिरामीको खोजी, उपचार र निगरानीलाई तीव्र बनाइएको छ। बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीको उपचार भइरहेको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ।
यही फागुन ८ गतेदेखि गाउँका विभिन्न स्थानमा दादुराको लक्षण देखिन थालेपछि स्वास्थ्यकर्मी गाउँमै पुगेर खोजतलास, जोखिम पहिचान, स्वास्थ्य सचेतना र निगरानी बढाइएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताए।
उनका अनुसार यस क्षेत्रमा रहेका छ हजार ७६३ जनालाई दादुराविरुद्धको खोप लगाउने योजना बनाइएको छ। फागुन २९ गतेदेखि आगामी चैत १ गतेसम्म विशेष खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए।
सङ्क्रमण फैलिन थालेपछि सावधानीस्वरूप यस क्षेत्रका विद्यालयहरू समेत बन्द गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ।

