काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनअन्तर्गत समानुपातिक तर्फको ११० सिटका लागि भएको मतदानको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको मतको बुधबार गणना सम्पन्न भएको हो।
जसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएका छन् भने चार लाख ५० हजार ८३ मत बदर भएका छन्। यो कुल मतको करिब चार प्रतिशत हो।
सदर मतमध्ये सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ। रास्वपाले ५१ लाख ८१ हजार ३३० मत अर्थात् ४७.८ प्रतिशत मत पाएको छ।
त्यस्तै नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत (१६.२ प्रतिशत) प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १४ लाख ५५ हजार ६६९ मत (१३.४ प्रतिशत) पाएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार ३९३ मत अर्थात् ७.५ प्रतिशत मत प्राप्त गरेको छ। पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ मत (३.६ प्रतिशत) पाएको छ भने छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार ६४९ मत अर्थात् ३.१ प्रतिशत मत प्राप्त गरेको छ।
समानुपातिकको मतगणना सकिएसँगै निर्वाचन आयोगले अब सिट बाँडफाँडको प्रक्रिया सुरु गरेको छ। आयोगले दलहरूले प्राप्त गर्ने सिटका आधारमा सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ। त्यसपछि समानुपातिक सूचीबाट निर्वाचित सांसदहरूको घोषणा गरिनेछ।
समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेसहोल्ड’
समानुपातिक प्रणालीमा सिट प्राप्त गर्न सदर मतको कम्तीमा तीन प्रतिशत मत आवश्यक पर्छ। तर यसपटक ५१ दलले उक्त ‘थ्रेसहोल्ड’ पार गर्न सकेनन्।
न्यूनतम मत सीमा नकटाउने दलमध्ये जनमत समाजवादी पार्टी (जसपा) नेपालले एक लाख ७४ हजार ३१७ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ५०१ मत पाएको छ।
त्यस्तै जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३ र राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२ मत प्राप्त गरेका छन्।
एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी) ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६ र एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) ले १३ हजार ४४५ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीले ९ हजार ८०, स्वाभिमान पार्टीले ८ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीले ७ हजार २०७, नेपाल जनता पार्टीले ७ हजार १५३ र राष्ट्रिय एकता दलले ७ हजार ५० मत पाएका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ले ६ हजार १६२, राष्ट्रिय गौरव पार्टीले ५ हजार २४१, नेशनल रिपब्लिक नेपालले ५ हजार १५७, नेपालका लागि नेपाली पार्टीले ५ हजार ७, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले ४ हजार ८२३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ६६८ मत प्राप्त गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले ४ हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले ४ हजार ३१२, समाजवादी पार्टी नेपालले ४ हजार २४८ र गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार २४८ मत पाएका छन्।
नेपाल लोकतान्त्रिक पार्टीले ४ हजार १००, नेपाल मातृभूमि पार्टीले २ हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालले २ हजार ९२५, बहुजन शक्ति पार्टी नेपालले २ हजार २६६, नेपाल जनमुक्ति पार्टीले २ हजार १६२, जनअधिकार पार्टीले २ हजार १०५ र नेपाल सद्भावना पार्टीले २ हजार १५ मत प्राप्त गरेका छन्।
पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका छन्।

