काठमाडौँ। अमेरिका, इजरायल र इरानबीच जारी तनाव र युद्धको प्रभाव खेलकुद क्षेत्रमा पनि देखिन थालेको छ। यही कारण देखाउँदै इरानले आगामी फिफा वर्ल्ड कप २०२६ मा आफ्नो फुटबल टोली सहभागी नहुने संकेत गरेको छ।
इरानका खेलकुद मन्त्री अहमद डोनीमलीले संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गरेको भन्दै यस्तो अवस्थामा विश्वकपमा भाग लिन नसकिने बताएका हुन्। उनले बुधबार सरकारी टेलिभिजनसँग कुरा गर्दै भने, “हाम्रा नेताको हत्या गर्ने भ्रष्ट शासनसँग सम्बन्धित प्रतियोगितामा हामी कुनै पनि परिस्थितिमा सहभागी हुन सक्दैनौँ।”
आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन्। उक्त प्रतियोगितामा एसियाबाट छनोट भएको इरानले समूह चरणका खेलहरू अमेरिकामै खेल्ने तालिका रहेको छ। समूह चरणमा इरानले बेल्जियम, नेदरल्यान्ड्स र इजिप्टसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो।
इरान एसियाबाट विश्वकपमा नियमित रूपमा सहभागी हुँदै आएको टोली हो। उसले पछिल्ला तीन संस्करणमा लगातार विश्वकप खेलेको थियो र आगामी प्रतियोगिता टोलीका लागि लगातार चौथो सहभागिता बन्ने तयारीमा थियो।
यदि इरानले आधिकारिक रूपमा प्रतियोगिताबाट नाम फिर्ता लिएमा फिफाले अर्को टोलीलाई प्रतिस्थापन गर्न सक्नेछ।
यस्तो अवस्थामा प्रतियोगिताको संरचना र समूह तालिकामा पनि परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

