काठमाडौँ । अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेलगत्तै इरानले पनि जवाफी सैन्य कारबाही सुरु गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले अमेरिकी सैन्य उपस्थिति रहेका बहराइन र कुवेततर्फ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।
आक्रमणपछि बहराइन र कुवेतमा हवाई हमलाको साइरन बजाइएको थियो। कुवेतको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण मिसाइल र ड्रोनलाई अवरोध गरिरहेको जनाएको छ। साथै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले देशको दक्षिणी क्षेत्रमा अमेरिकी एमक्यु–९ ड्रोन खसालिएको दाबी गरेको छ। यद्यपि, यसबारे अमेरिकी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकी सैन्य कारबाहीलाई अस्वीकार्य भन्दै “दबाब र धम्कीको युग समाप्त भएको छ, इरान झुक्दैन” प्रतिक्रिया दिएका छन्।
अमेरिका र इरानबीचको पछिल्लो सैन्य गतिविधिपछि दुवै पक्षबीच तनाव थप चर्किएको छ। यसले मध्यपूर्वको सुरक्षा अवस्था अझ जटिल बन्न सक्ने चिन्ता पनि बढाएको छ।
