काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककस्थित चतुचक क्षेत्रमा रहेको एक बारमा आइतबार मध्यराति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। घटनापछि केही व्यक्ति सम्पर्कविहीन रहेको आशंका गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारबाट आगोको विशाल ज्वाला निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागदौड गरिरहेको तथा घटनास्थलमा कोलाहल मच्चिएको देखिन्छ।

घटनास्थल पुगेका थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले हालसम्म २७ जनाको शव फेला परेको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन्। आगलागीको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइए पनि त्यसअघि नै ठूलो मानवीय तथा भौतिक क्षति भइसकेको थियो। प्रारम्भिक विवरणअनुसार मृतकमध्ये नौ पुरुष र १८ महिला रहेका छन्।
आगलागीका बेला बारमा सांगीतिक प्रस्तुति दिइरहेका एक कलाकारसँग प्रहरीले सोधपुछ गरेको छ। ती कलाकारका अनुसार सुरुआतमा विद्युतीय कट–आउट स्विचबाट आगो सल्किएको थियो। त्यसलगत्तै ठूलो विस्फोट भएको र केही क्षणमै आगो बारभरि फैलिएको उनले बताएका छन्।

