काठमाडौं । सप्तकोशी नदीमा जलप्रवाह निरन्तर बढ्न थालेपछि सुनसरी प्रशासनले बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ। सम्भावित डुबान, कटान र अन्य विपद्को सामना गर्न जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको जनाइएको छ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका हुन्। हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पानीको बहाव मापन गरिएको छ। बढ्दो जलप्रवाहलाई व्यवस्थापन गर्न ब्यारेजका २० वटा ढोका खोलिएका छन्। कोशीमा बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रचलन छ।

धरान (सुनसरी, १ साउनः
सुनसरी र सप्तरी जोड्ने सप्तकोशी नदीमाथि निर्मित कोशी ब्यारेज पुल। वर्षायाम भएकाले नदीमा पानीको बहाव बढ्न थालेपछि ब्यारेज क्षेत्रमा निगरानी समेत बढाइएको छ। तस्बिरः संगीता राई/रासस
अनुगमनपछि प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको जानकारी दिँदै बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै सरोकारवाला निकायको जिम्मेवारी स्पष्ट रूपमा तोकिएको बताए। आवश्यक कार्यविधिसमेत तयार पारिएको उनले उल्लेख गरे।
उनका अनुसार बर्खायाममा उद्धार, राहत वितरण, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक परे पुनःस्थापनासम्मका सम्पूर्ण तयारी पूरा गरिएको छ। जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई जुनसुकै बेला परिचालन गर्न सकिने अवस्था बनाइएको उनले बताए।

धरान (सुनसरी, १ साउनः
सुनसरी र सप्तरी जोड्ने सप्तकोशी नदीमाथि निर्मित कोशी ब्यारेज पुल। वर्षायाम भएकाले नदीमा पानीको बहाव बढ्न थालेपछि ब्यारेज क्षेत्रमा निगरानी समेत बढाइएको छ। तस्बिरः संगीता राई/रासस
प्रमुख जिल्ला अधिकारी घिमिरेले कोशी ब्यारेजको पुल तथा कमजोर तटबन्धहरूको मर्मतसम्भार गरिसकिएको जानकारी दिँदै ठूलो बाढीका कारण कतै कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी मिलाइएको बताए।
स्थलगत अनुगमनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरे तथा अन्य सुरक्षा निकायका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

