काठमाडौँ। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले तीव्रता पाएको छ। उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको हो। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योगको हालसम्मको प्रगति, चालिएका कदम र आगामी कार्ययोजनासहितको प्रतिवेदन पेस गरेको हो।
मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगमा रहेका मेसिनहरूको मर्मत तथा परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको छ।
प्रतिवेदनअनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य निर्धारण गरेको छ। सोही लक्ष्यअनुसार उद्योगभित्र आवश्यक तयारीलाई तीव्रता दिइएको छ।
उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा रु ३३ लाख बजेट निकासा गरिसकेको छ। उक्त रकमबाट परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक कार्य सञ्चालन गर्न सहज भएको जनाइएको छ।
उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिएको छ। टोलीले सरसफाइको कामलाई तीव्र बनाउनुका साथै परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरिसकेको छ भने सैनिक सामग्री उत्पादन निर्देशनालयको प्राविधिक टोलीले मेसिनहरूको मर्मत कार्य पनि सुरु गरिसकेको प्रतिवेदनमा उल्लेख छ।
उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मतका लागि पूर्वाधार विकास मन्त्रालयमा रु ५० लाखको लागत अनुमान पेस गरिएको छ। सोही आधारमा मन्त्रालयले उद्योगका भवन तथा अन्य संरचनाको मर्मत गर्ने जिम्मेवारी लिएको छ।
उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गरिरहेको छ। प्रतिवेदनअनुसार उद्योग सञ्चालनका लागि आवश्यक विद्युत् मर्मत कार्य सम्पन्न भइसकेको छ।
प्रतिवेदनमा तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन मर्मत गरेर परीक्षण उत्पादन गरिने उल्लेख गरिएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आवश्यक कानुनी तथा नीतिगत निर्णयमार्फत उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि बढाइने जनाइएको छ।
प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय गौरवसँग जोडिएको हेटौँडा कपडा उद्योगको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले कार्यदलका सुझावका आधारमा निर्धारित समयभित्र परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

