काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको आकस्मिक बाढीले बगाएको स्कुटर फेला परेको छ भने चालकको अवस्था अझै अज्ञात रहेको छ।
बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट करिब एक सय मिटर तल खोलाको दहमा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो करिब ३ बजे आएको अचानकको बाढीले स्कुटरसहित चालकलाई बगाएको थियो। घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार अभियान सुरु गरिएको थियो।
खोजीका क्रममा स्कुटर भेटिए पनि चालक अझै फेला परेका छैनन्। नदीको तीव्र बहाव, बाढीसँगै बगेको लेदो र ढुंगाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा निरन्तर खोजी जारी राखेका छन् भने स्थानीय बासिन्दाले पनि अभियानमा सहयोग गरिरहेका छन्। चालकको अवस्था अझै खुल्न नसकेको र खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको प्रहरीले जनाएको छ।

