काठमाडौं । जेड बेलिङ्घमको दुई गोलको बलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा इंग्ल्यान्डले अतिरिक्त समयमा जित निकाल्दै आठ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको हो। पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वे भने सुरुआती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा जेड बेलिङ्घमले बराबरी गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाएका हुन्।

