काठमाण्डौ । उदीयमान कवि सुमित्रा बजगाई एक प्रतियोगितात्मक महिला कविगोष्ठीमा पुरस्कृत भएकी छन् । भानु जयन्तीका अवसरमा लायन्स क्लब अफ काठमाण्डौ होली स्माईल र युराशिया रेयुकाई ११ औं शाखाको संयुक्त आयोजनामा शनिबार सम्पन्न प्रतियोगितात्मक महिला कविगोष्ठीमा बजगाईँ तृतिय स्थान प्राप्त गर्दै पुरस्कृत भएकी हुन् ।
ललितपुरको सानेपास्थित युराशिया रेयुकाई ११ औं शाखा कार्यालयमा सम्पन्न कविगोष्ठीमा कवि बजगाईंको कविता गाउँको समाचारले तृतीय स्थान प्राप्त गरेको हो ।
रमण घिमिरेद्वारा सञ्चालित सो कार्यक्रममा झण्डै तीन दर्जन कविले आ-आफ्ना कविता सुनाएका थिए । साहित्यकार त्रय राजेन्द्र सलभ, भवानी खतिवडा र रञ्जना निरौलाले वाचित कविताको मूल्यांकन गरेका थिए । कविगोष्ठीमा अनुश्री आचार्य प्रथम, अम्बिका नेपाली द्वितीय, सुमित्रा बजगाईं तृतीय भए भने कवि ललिता दोषिले सान्त्वना पुरस्कार प्राप्त गरिन् ।
कवि बजगाईँलाई हार्दिक बधाईसहित थप सिर्जनात्मक सफलताको शुभकामना !!
प्रस्तुत छ कवि सुमित्रा बजगाईंको उक्त कविता
गाउँकाे समाचार
उखलिदियाे विकासकाे डाेजरले
गाँऊ, स्वयम् सुस्केरा हाल्ने चौतारी
गाउँ, स्वयम् थकाइ बिसाउने देउराली
पुरीदियाे तिर्खा मेटाउने पधेँरी ,
अचेल, गाउँ काकाकुल बनेकाे छ ।
स्वास्थ्य चाैकी मास्सिएर
बनेका छन् भट्टाहरू
आमा र बच्चा एउटै ज्यान
भइसक्दा पनि एउटै चिहान
सदरमा अलपत्र परेका छन्
औषधी, एम्बुलेन्स र डाक्टरहरू
अचेल, गाउँ बिरामी परेकाे छ ।
कतै विकृतिकाे बाढी पसेकाे छ
कतै हाेडबाजीकाे पहिराे खसेकाे छ ।
बिर्सेका छन्
फाटेका कमिजहरूले
सिलाेकका सुर
फरियाहरूले मारुनी नाचकाे ताल
शहरकाे झिलिमिलिले
गाउँको सौन्दर्य लुटेकाे छ
अचेल, गाउँ गहिरो शून्यतामा छ ।
गाउँका महङ्गा धान गरा
खर्रीएका छन् दिन दिन
मुगलानका सस्ता बजारमा
पसिनाको अत्तर बगिरहेछ दिन दिन
यतिसम्म कि-
आफ्नै मलाम जान खेताला खाेज्न
मूर्दा भाैँतारिएकाे छ
अचेल गाउँ अप्रीय समाचार बनेकाे छ ।
म शहरकाे महंगो क्याफेमा
कफिकाे चुस्की चुस्की स्वादमा
गाउँको समाचार पढिरहेकाे छु
यसैलाई बिकास भनिरहेको छु
च्व ! च्व !! च्व !!!
कस्तो समृद्धिको सपना देखिरहेको छु !

