काठमाडौं, साउन ६ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनता र वर्तमान राजनीतिक चुनौतीको सामना गर्न परिवर्तनकारी राजनीतिक शक्तिहरूबीच पुनः सहकार्य अपरिहार्य भएको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ऐतिहासिक यात्रामा सहकार्य गरेका दलहरू फेरि एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले राष्ट्रिय स्वाधीनता अहिले संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको संरक्षणका लागि नेपाली कांग्रेस, मधेस केन्द्रित दल तथा अन्य परिवर्तनकारी शक्तिहरूसँग साझा समझदारी र सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार वर्तमान राजनीतिक जटिलताको समाधान व्यापक राजनीतिक एकताबाट मात्रै सम्भव छ।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा विगतमा केही कमजोरी रहेको स्वीकार गर्दै आगामी दिनमा विश्वभरका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्धलाई थप मजबुत बनाइने जानकारी दिए।
सांगठनिक तयारीबारे जानकारी दिँदै उनले मधेस प्रदेश समितिको शपथ सम्पन्न भएको र अब बागमती प्रदेश समितिको शपथ ग्रहण मात्र बाँकी रहेको बताए।

