काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटमा उपराष्ट्रपति यादवले सन् १९४७ देखि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अमेरिकाबीच पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा जनस्तरको गहिरो सम्बन्धका आधारमा मित्रवत् र सहयोगात्मक सम्बन्ध कायम रहँदै आएको बताए।
उनले लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता साझा मूल्यप्रति सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च प्राथमिकता दिएको उल्लेख गरे। साथै, नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।
उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसर हुने विश्वास व्यक्त गरे। साथै, आगामी दिनमा पनि नेपालको विकासमा अमेरिकाको निरन्तर सहयोग र समर्थन रहने अपेक्षा व्यक्त गरे।
यस अवसरमा उनले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना पनि व्यक्त गरेका थिए।
भेटका क्रममा कार्यवाहक राजदूत अर्बमले नेपाल–अमेरिका सम्बन्ध दीर्घकालीन, ऐतिहासिक र बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ र उच्चस्तरमा पुर्याउन अमेरिका प्रतिबद्ध रहेको बताए।
उनले नेपालप्रति अमेरिकाको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा सञ्चालनमा रहेका अमेरिकी परियोजनाहरू प्रभावकारी र सहज रूपमा अघि बढिरहेकोमा सन्तोष व्यक्त गरे।

