काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बादल लागेको छ भने धेरैजसो तराई भूभागमा मौसम सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। अन्य तराई क्षेत्र भने मुख्यतः सफा छन्।
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ। कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कोशी र मधेस प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा तातो दिनको अवस्था रहने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

