काठमाडौँ । अत्यधिक गर्मी र ‘लू’ को प्रभाव बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै असार ११ गतेदेखि लागू हुने गरी बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यालय बन्द रहनेछन्। उक्त बिदा वार्षिक वर्षे बिदाबाट कट्टा हुने जनाइएको छ।
पछिल्ला केही दिनयता तराई–मधेसका जिल्लामा तापक्रम निरन्तर वृद्धि हुँदै गएपछि जनजीवन प्रभावित बनेको छ। चर्को गर्मीका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। यता, मुस्लिम समुदायको पर्व मोहरम (दाहा) लाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।
बैठकले धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्ने उद्देश्यसहित नौबुँदे आचारसंहिता जारी गरेको छ। आचारसंहिताअनुसार र्याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्र सञ्चालन गर्नुपर्नेछ। साथै हातहतियार, अशान्ति फैलाउने गतिविधि तथा उच्च ध्वनियुक्त उपकरणको प्रयोगमा रोक लगाइएको छ।
अन्य धार्मिक समुदायको भावना आहत हुने गतिविधि नगर्न, सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचार–प्रसार नगर्न तथा प्रत्येक र्याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।
पर्व अवधिभर सुरक्षा समन्वयलाई प्रभावकारी बनाउन मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दू समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिएका छन्।

