काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्दै प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो।
विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्मलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। ती दफामाथि कुनै संशोधन स्वीकृत नभएसँगै विधेयक अन्ततः बहुमतबाट पारित भएको हो।
यसअघि विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू प्रतिनिधिसभाले अस्वीकृत गरेको थियो। सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले प्रस्तुत गरेका खर्च कटौती प्रस्तावहरू सभाको बहुमतले अस्वीकार गरेको हो।
अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गरेका थिए। त्यसपछि असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि विस्तृत छलफल भएको थियो। छलफलका क्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रबार (आज) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

