काठमाडौं । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्व मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार भोटो प्रदर्शनसँगै औपचारिक रूपमा सम्पन्न हुँदैछ।
ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काका अनुसार जावलाखेलस्थित ललित मण्डपमा आयोजना हुने भोटो जात्राको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्र प्रमुखको उपस्थितिमा परम्पराअनुसार भोटो प्रदर्शन गरिने कार्यक्रम रहेको उनले जानकारी दिए।
हरेक वर्षझैँ यस वर्ष पनि सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई भोटो देखाइनेछ। वैशाख शुक्ल प्रतिपदादेखि आरम्भ भएको रथयात्रामा वर्षा र समृद्धिका देवता मानिने रातो मच्छिन्द्रनाथको प्रतिमालाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो।
परम्पराअनुसार रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने प्रचलन रहिआएको छ। यही ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै शनिबार भोटो जात्रा मनाउन लागिएको हो।
संस्कृतिविद्हरूका अनुसार रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीनतम तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो। राजतन्त्रकालमा भोटो जात्रामा राजाको उपस्थिति रहने परम्परा थियो भने गणतन्त्र स्थापना भएपछि राष्ट्रपतिले समारोहमा सहभागिता जनाउँदै आएका छन्।
भोटो प्रदर्शन सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको प्रतिमालाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराउने परम्परा रहेको वडाध्यक्ष खड्काले बताए।
उनले यस वर्षको रथयात्रा शान्तिपूर्ण, व्यवस्थित र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै भोटो जात्रामा सहभागी हुने भक्तजन तथा दर्शकलाई व्यवस्थापन र सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन्। साथै जावलाखेल क्षेत्रमा फुटपाथ व्यापार नगर्न सम्बन्धित सबै पक्षसँग अनुरोध गरेका छन्।

