काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य तराई भूभागमा मौसम मुख्यतः सफा छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका तराई क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ। लुम्बिनीका पहाडी भूभाग र मधेस प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ।
मौसमविद्का अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।
त्यसैगरी कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा अत्यधिक गर्मीका कारण तातो दिनको अनुभूति हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

